-सफल घिमिरे
केही महिना यता चर्किएको अरब आन्दोलनले फरक मुलुकलाई भिन्नाभिन्नै पाठ सिकाएको छ। यसको नेपालमा पर्ने राजनीतिकभन्दा पनि आर्थिक प्रभाव बढी गहिरो हुने देखिन्छ। अरब आन्दोलनको अर्थ कतिपय नेपालीको रोजगारीमात्र होइन रोजीरोटी नै गुम्नु हो। सन् २०११ को जनबरीमा थालिएको यो आन्दोलन इजिप्ट, ट्युनिसिया, लिबियाजस्ता मुलुक हुँदै बहराइन पुगेको हो। इजिप्टले काँचुली फेरेर निर्वाचन प्रक्रिया थालिसकेको छ। तर लिबिया र बहराइनजस्ता मुलुकले अझै सही बाटो पहिल्याएका छैनन्। आर्थिक अस्थिरताले त्यहाँको दैनिक जीवन अस्तव्यस्त भएको छ। सोही कारण त्यहाँ स्वदेशीमात्रै नभएर आप्रवासी कामदारको पनि रोजगारीमा व्यवधान सिर्जना भएको छ।
![]() |
| Source: nrn.nepalko.info |
अरबभूमिको अर्थतन्त्रसँग नेपाली समाजको सम्बन्ध केही वर्षदेखिको हो। यो क्षेत्र नेपाली आप्रवासी कामदारको मूल गन्तव्य हो। तर आन्दोलनका कारण वैदेशिक रोजगारीलाई आधार बनाएर चलाइएका यहाँका व्यवसायसमेत ओरालो लाग्दैछन्। नेपालबाट खाडी मुलुक जाने कामदारको संख्यामा कमी आएको छ। गएका पनि फर्किन बाध्य भएका छन्। कामका लागि विदेशिने नेपालीको काँधले परिवारको छाना, माना र नानाको जिम्मेवारी थामेका हुन्छन्। त्यसैकारण पनि खाडीको आन्दोलन नेपाली अर्थतन्त्रका लागि गहु्रंगो हुने देखिन्छ।
