Monday, December 24, 2018

बेतारेको प्रभाव र नाङ्गी गाउँको परिवर्तन

एसएमएसदेखि एटिम र गुगलदेखि आइपडसम्मका सेवाबाट रत्तिभर टाढा रहन नसक्ने अहिलेको सहरी पुस्तासँगै एक्काइसौँ शताब्दीलाई 'साइबरको युग' भनेर चिनिन्छ । अहिले त सूचना र प्रविधि मानिसको मौलिक अधिकारसरि नै स्थापित हुन थालेको चर्चासमेत बग्रेल्ति भेटिन्छन् । तर पनि हाम्रो मुलुकमा प्रविधिको पहुँचदेखि पाखा पारिएका थुप्रै भेगहरू छन् । पश्चिम नेपालको म्याग्दी जिल्लामा रहेको नाङ्गी गाउँ भौगोलिक रूपमा काठमाडौँदेखि धेरै दुर्गम रहेपनि सूचना प्रविधिको हकमा संसारैसँग सुगम भइसकेको छ ।

प्रविधि र जीविकाको अन्तरसम्बन्ध अनुसन्धानको क्रममा सन् २००९ को शरद् ऋतुका केही दिनहरू नाङ्गीमा बिताउँदाको हाम्रो अनुभव निकै चीरस्मरणीय रहृयो । समुद्री सतहदेखि ८९९ मिटरमा रहेको म्याग्दी सदरमुकाम बेनीदेखि नाङ्गी पुग्न अभ्यस्त गोडाहरूलाई करिब ४-५ र नयाँ पाइलाहरूलाई ६-१० घण्टासम्मको ठाडो उकालो थियो । अनि उकालीमा साथ थिए अनुसन्धान सहकर्मी अशोक राई र सहायकहरू उषा भण्डारी अनि नानु रेग्मी । बेनीबाट वृद्धभत्ता पोको पारेर आशलाग्दो अनुहारमा कुवापानी उक्लिरहेकी पार्वती बराल, ७९, भेटिइन् । भन्दै थिइन्, "तेस्रो बाटो खन्खनी पैसा तिरेर गाडीले दौडाउँदो रै'छ । ठाडो बाटो भने स्याँस्याँ र सुँसुँ, आफै नउक्ली नहुनी । के विकास गरेका भनुँ यसलाई?" उमेरले चारबीस भेट्नै लागे पनि उनका गोडाहरू हामीभन्दा टाठा थिए । हामी उनको उमेरको एक चौथाइमात्रै खाएकाहरूले जीवन बुझ्न अझै बाँकी नै थियो ।



खेतका तरेलीहरूलाई देब्रे पार्दै हामी देउरालीका रमाइला बस्ति हुँदै अघि बढ्दै थियौँ । मूलको पानी पिउँदै ठाडै उकालोतिर मेलो लगाउँदा घामका रोशनीहरू भने उज्यालोको अन्तिम प्रहरमा बादल चिरेर धरती ओर्लिरहेका थिए । साँझ छिप्पिइसकेको हुनाले नाङ्गी पुग्नु केही घण्टाअघिको दूरिमा फलामेडाँडामा वास बस्यौँ । उचाइमा तीव्र हुरीको वेगले पनि छेदन गर्न नसक्ने अजिंगर छाती भएको हुनाले यसलाई फलामेडाँडा भनिएको रहेछ । भोलिपल्ट झिसमिसेमै चिया पिएर बाटो लाग्यौँ ।

बेनीबाट नौ घण्टाको हिँडाइ भएपनि काठमाडौँबाट नाङ्गी पुग्न हामीलाई पूरा तीन दिन लाग्यो । नाङ्गी समुद्री सतहबाट अनुमानित २,२६० मिटरको उचाइमा धवलागिरी हिमालको काखमा थपक्क बसेको थियो । असोजको घाम गाउँ पस्नुपूर्व बादलहरू आकाशका कुनाकाप्चातिर छेउ लाग्ने तरखर गरिरहेका थिए । त्यसैले पनि हुनुपर्छ, श्वेत हिमपहिरनमा अग्ला शिखरहरू प्रस्टै खुलेका थिए । स-साना हिमचुचुराहरू अलि अग्लाको पछि लुकेर चियाइरहेजस्ता देखिन्थे । अलिबेरपछि हाम्रोअघि पूरै कैलाशशृंखला नै ओजिलो भई खुल्यो । हठात् सम्झिएँ सरुभक्तका शब्दहरू, "यी हिमालहरू कति राम्रा देखिएका ? यति राम्रा त नदेखिएका भए पनि त हुन्थ्यो ।"

नाङ्गीमा इन्टरनेट
संसारमा पहिलो कम्प्युटर बनेको दशकौँपछि र टिम बर्नर लीले पहिलो पटक वर्ल्ड वाइड वेब (डब्ल्यूडब्ल्यूडब्ल्यू) भन्ने शब्द प्रयोग गरेका बीस वर्षछि नाङ्गीमा कम्प्युटर छिरेको थियो । गाउँमा इन्टरनेटको पहुँच पुर्‍याउने गर्वयोग्य सुपरिचित थिए नेपाली दुर्गम भेगमा बेतारे इन्टरनेट प्रविधिका प्रणेता महावीर पुन । ग्रामीण जीवनप्रति अवर्णनीय योगदानको कदरस्वरूप उनलाई सन् २००७ मा एसियाको नोबेल पुरस्कार भनिने रमन म्यागासेसे अवार्डले समेत विभूषित गरिएको थियो । हिमालको फेदीमा पर्ने नाङ्गी गाउँमा प्रविधि भित्रयाउन उनले डाँडा टाकुराका रुख-रुखमा डिस्क राखेर पोखरादेखि बेतारे सिग्नल तानेका थिए । यसै प्रविधिको मद्दतले अहिले नाङ्गी आफ्नै आँगनमा गाउँलेको उपचार गराउँछ र इन्टरनेटबाटै सामग्री तथा बस्तुभाउसमेत बेच्छ । पहिले चिठ्ठीपत्र पुग्थ्यो/पुग्थेन थाहा हुन्थेन तर अहिले यो गोल भूगोलको कुनाकाप्चामा रहेका आफ्ना स्वजनसँग गाउँलेहरू सहजै इन्टरनेट फोन (भिओआइपी) तथा अनलाइन कुरासमेत गर्छन् । सोही गाउँमा स्वास्थ्य स्वयंसेवकको रूपमा केही महिनाको लागि आएकी स्यारन स्युरी भन्दै थिइन्, "सूचना प्रविधिमा संसारकै राजधानी भनेर कहलिएको अमेरिकाको सिलिकन भ्यालीबाट आएकी भए तापनि मलाई आइटीसम्बन्धी खासै आउँदैन । तर इमेलमा जीविकालाई यसरी गाँसेका गाउँलेसामु म नतमस्तक हुन्छु ।"

काठमाडौँकै कतिपय स्कुले विद्यार्थीलाई इन्टरनेट खोजबारे थाहा नहुन सक्छ । तर कुरा गर्दै जाँदा नाङ्गीमा कक्षा ४ मा पढ्ने नुतन पुन गुगलको प्रयोग गरिरहेका भेटिए । १५ वर्षो उमेरमा बल्लतल्ल पोखरामा गुगलका रंगहरू देखेको आफ्नै नियतिलाई सम्झेर सोधेँ, "के हेर्ने गर्छौ गुगल खोलेर?" पुनले गर्विलो मुस्कान छरेर उत्तर दिए­, "बसको फोटो हेर्छु" उत्तर अझै ओजिलो थियो । किनकि नाङ्गी गाउँमा बस पुग्नको लागि सुगम बाटो नै छैन । भत्केबिग्रे नपरेमा अनि बाटो अनुकूल भइदिएमा मात्रै जिप चल्छ । तर पनि नुतनजस्ता थुप्रै बालबालिका गुगलको इमेज टयाबमा त्यही बसको तस्विर हेरी मन फुरुङ्गङ्ग पार्छन्, जुन बस तिनको गाउँमा आजसम्म आएकै छैन ।

इ-व्यापारः कम्प्युटरमै पसल
युरो-अमेरिकी मुलुकहरू इ-कमर्सबाट एम-कमर्स (मोबाइल कमर्स) मा पुगिसक्दा पूरै काठमाडौँ अझै इन्टरनेटमा समेत अभ्यस्त भइसकेको छैन । सुन्दा अचम्म लाग्न सक्छ, नाङ्गीवासीहरूले बेतारे प्रविधिको माध्यमबाट अन्तरग्रामीण सञ्जाल (इन्ट्रानेट) स्थापना गरी खरायो र गोरुसमेत बेचिसकेका छन् । पोखराको गण्डकी कलेज अफ इञ्जिनियरिङ एण्ड साइन्सेसद्वारा विकसित सफ्टवेयरको मद्दतले राम्चे र वरपरका केही गाउँमा एक दर्जनजति टेलिसेन्टरहरूमा सामग्री किनबेचको यस्तो प्रबन्ध मिलाइएको छ । ती प्रत्येक टेलिसेन्टरमा रहेका एक दर्जन जति नै अपरेटरहरूसँग सो इन्ट्रानेटको 'पार्सवर्ड' छ र उनीहरू गाउँलेलाई तिनको सामग्री तथा बस्तुभाउको फोटोसहित विज्ञापन गर्न मद्दत गर्छन् । यसको लागि प्रथमतः सबै क्रेता-बिक्रेतामै कम्प्युटर तथा सो इन्ट्रानेट उपयोगसम्बन्धी न्यूनतम जानकारी अत्यावश्यक पर्छ । त्यसैले यस्तो प्रविधि निकै छलाङकारी भए पनि सोको उपयोग भने सीमित मात्रै भएको हिमाञ्चल कम्प्युटर ल्याबका सञ्चालक किसन पुनले जानकारी दिए ।

टेलिमेडिसिनः क्यामेरामा डक्टर
टेलिमेडिसिन नाङ्गीको प्रमुख गर्व हो । चाहिएको बेला स्वास्थ्य सेवा पाउनु भनेको केही वर्षघि सम्म पनि गाउँलेको लागि दिवास्वप्नसरि थियो । कति बिरामीको त सदरमुकाम बेनी अथवा पोखरा सहर लैजाँदैमा मृत्युसमेत हुन्थ्यो । अहिले स्थानीय हिमाञ्चल उच्च माविले सोही बेतारे प्रविधिको सहायताले टेलिमेडिसिन क्लिनिक चलाएको छ । सो क्लिनिकमा हाल पोखरा र काठमाडौँको मोडल अस्पतालका डक्टरहरूसँग अनलाइन कुरा गरी तत्स्थान परामर्श र औषधीको सिफारिश लिन सकिने व्यवस्था छ । औषधिबाहेकका अरू सबै सेवा निःशुल्क दिइने यस चौकीबाट दैनिक लगभग बीस बिरामीहरूले सेवा लिइरहेका रजिष्टरमा प्रस्टै देखिन्छ । कोठाभित्र अन्तर्राष्ट्रिय टेलिकम युनियनको सहयोगमा फराकिलो एलसिडी मनिटर जोडिएको छ, जसको पर्दामा पोलिकम नामको 'हाई रिजोल्युसन' वेब क्यामराले बिरामीको तस्विर अति स्पष्ट देखाउन सक्छ । त्यहाँ चाहेको समय नै उपलब्ध हुने गरी दुई महिला हेल्थ इन्चार्जहरूको पनि व्यवस्था गरिएको छ । तीमध्ये लिलादेवी पुन भन्छिन्, "गाउँलेले पहिले-पहिले भोगेका पीडा हामीलाई थाहा छ । त्यसैले रात­­-दिन जुनसुकै समयमा घरमै आएर बोलाए पनि सेवा दिन तम्तयार भएर हामी बसेका हुन्छौँ ।"

यसरी नै अब सो विद्यालयले दूरशिक्षा (टेलिटिचिङ) को अवधारणा अघि सारेको छ । यो योजना कार्यान्वयनमा आएको खण्डमा एउटै गाउँमा भएको पठनपाठनलाई बेतारे प्रविधिको माध्यमले अरू थुप्रै गाउँका विद्यालयमा पनि उही समय सञ्चालन गर्न सकिनेछ । यसरी सो योजनाले थोरै संख्यामा रहेका सीपालु शिक्षक/शिक्षिकाको सेवालाई एकै समय धेरै विद्यार्थीहरूसम्म पुर्‍याउन सक्छ । तर यसको लागि पनि थुप्रै लगानी आवश्यक पर्न सक्छ ।

सिक्नुपर्ने ठाउँ
गाउँले भेगको सरकारी विद्यालय नै भए पनि नाङ्गीको हिमाञ्चल उच्च माविको स्वनिर्भरता अनुकरणीय छ । पोखराबाट सिग्नल खिच्ने पहिलो रिले स्टेशन राखिएको मौर्य डाँडाको टुप्पोमा प्राविधिक रेखदेखको लागि एकजना मानिस राखिएको छ । उनले स्टेशन म्यानेजरको साथै विद्यालयको लागि १२०-१२५ चौँरी पाल्ने काम पनि गर्छन् । यसरी उनले प्राविधिक चाँजोपाजोको निरन्तर खबर गर्न चौँरीगोठमै समेत इन्टरनेट चलाउँछन् । यस सत्प्रयासले मोबाइलका कुनै पनि सेवाको पहुँच नरहेको स्थानमा गाउँलेलाई सुलभ दरमा इन्टरनेट फोन र पालो गरेर निःशुल्क इन्टरनेट सेवा दिइरहेको छ । सो ठाउँमा उपलब्ध कम्प्युटर शिक्षातर्फआकषिर्त भएर वरपर गाउँका विद्यार्थी पनि सोही विद्यालयमा पढ्न आउने हुँदा व्यवस्थापन समितिले तिनको लागि स-साना आवासगृहहरूको व्यवस्था गरेको छ । यस अतिरिक्त त्यहाँ स्थानीय महिलाहरूलाई ज्यालादारी रोजगारी जुराएर लोक्ताबाट नेपाली कागज बनाउने उद्योगसमेत सञ्चालित छ । वेबसाइटमा समेत विज्ञापन गरिने यस उत्पादनको लागि विद्यालयले थुप्रै विदेशी अर्डरहरू पाउँछ । यी आम्दानीबाट विद्यालयले सरकारी दरबन्दीजति नै संख्यामा थप शिक्षक/शिक्षिकालाई तलब दिई जनशक्ति प्रवर्धन गर्न सकेको छ ।

नाङ्गीका प्रत्येक विकास गतिविधिमा सामुदायिक सत्प्रयासको अब्बल नमुना भेटिन्छन् । लाहुर गई फर्केकाहरूले अनिवार्य रूपमा केही कार्यकाल गाविस अध्यक्ष, विद्यालय व्यवस्थापन समिति संयोजक आदिजस्ता सार्वजनिक पद धारण गरी सेवा गर्नुपर्ने नाङ्गी गाउँको अघोषित नियम छ । सबैेसँग मिलिजुली विद्यालय व्यवस्थापन समितिले नै यहाँ हाँस, खरायो र मत्स्यपालनसमेत गरेको छ ।

समष्टि
अर्जेन्टिना, उरुग्वे तथा तान्जानियामा ग्रामीण व्यवसाय तथा समाजका पछि पारिएका वर्गको उत्थानमा सूचना प्रविधिले होस्टेमा हैँसे थपेको उदाहरण प्रशस्तै भेटिन्छन् । यस्तै उदाहरण अफ्रिकी मुलुक बोत्स्वानामा पनि छ । ठीक उसैगरी म्यागासेसे विजेता महावीर पुनको सामुदायिक नेत्तृत्वले नाङ्गीलाई विकासको नयाँ उचाइ दिएको छ । लगभग पूरै गाउँलेहरू उनलाई 'देउताको पनि देउता' मान्छन् । तर यसको ठीक विपरीत पुरस्कार एवम् प्रशंसाबाट सकेसम्म परै रहने पुनले हाम्रो नाङ्गी बसाइको केही दिनपछि राजधानीमा अन्तर्राष्ट्रिय समुदायलाई सम्बोधन गर्दै थिए । उनले सरल, सरस तथा सुन्दर अँग्रेजी लवजमा भने, "वी हृयाभ डन दिस थिङ वन्ली बिकज नोबडी हृयाज डन दिस थिङ" (अरू कसैले पनि नगरेको भएर मात्रै हामीले यो काम गरेका हौँ ।)

गाउँलेहरूमा आफ्नो ठाउँप्रतिको उत्तरदायी आत्मचेतना पनि नाङ्गीमा प्रशस्तै भेटिन्छ । राज्यतर्फाट हुनुपर्ने हरेक पूर्वाधार तथा सेवाहरूको स्थिति अति कमजोर हुँदा पनि सामुदायिक प्रयासले यस ठाउँलाई विकासको उचाइ दिएको छ । हामीले भोगेको सत्य यही हो । गाउँको समष्टिगत अवलोकन गरी र्फकँदाको अनुभवले जोकोहीको अघि पनि थप यक्षप्रश्न उभ्याइदिन्छ, "के राज्यको उपस्थितिविना पनि विकास सम्भव हुन सक्छ त ?"

नाङ्गी, फेरि भेटौँला
काठमाडौँ छोडेको हप्तादिन जतिपछि गाउँबाट फर्किने बेला हामीले कुरा गरेका धेरैले इमेल ठेगाना मागे । डट कम जेनरेसन भनेर चिनिने सीमित सहरिया वर्गमा मात्रै बाँडिन्थ्यो । यही इमेल ठेगाना तिनै दाजुदिदीसँगको कुराकानीमा पनि उपयोग हुने सम्झेेर मन आनन्दित भइरहृयो । खुसीसाथ दियौँ । राजधानी कहलिएको सहर छिर्नुभन्दा पहिले नाङ्गीको इमेल मेरो 'इन्बक्स'मा पसिसकेको रहेछ । लिला दिदीले लेखेकी थिइन्, "भाइ ! गाउँलाई नबिर्सनुहोला । तपाईँहरू आउनुभएकोमा हामी धेरै खुसी छौँ ।" त्यस्तो गाउँमा यतिका दिन बिताउँदा मलाई नेपाली भएकोमा पहिलो चोटि यति धेरै गर्वानुभूति भयो । यस खुसीको अभिव्यक्तिलाई मैले नाङ्गी पुग्नेबित्तिकै फेसबुकको स्ट्येटस्मा पनि उतारेको थिएँ । सायद यस्तै खुसीको गुणात्मक अभिवृद्धि हुने हो भने नागपोखरीमा बेलायती भिसाको लागि विद्यार्थीको लाम पनि घट्थ्यो होला ।

अन्तिम दिन । शितले निथ्रुक्कै भिजेका सल्लाका पातहरूमा बिहानी घामको पहिलो झुल्को पर्दानपर्दै हामी नाङ्गीबाट टाढिने बेला भइसकेको थियो । सखारैका ओसिला गोरेटोहरूले बिदा दिन अप्ठयारो मानिरहेका थिए । बादलको च्यादर हटाएर धवलागिरी हिमाल पारिलो घाममा नुहाइरहेको थियो । हाम्रा पदचापहरूले विस्तारै-विस्तारै नाङ्गीको भूगोललाई छोडे । तर पनि आगामी दिनमा औँलाहरूले किबोर्ड थिच्दै नाङ्गीसँग नजिकिने छौँ भन्नेमा हामी विश्वस्त थियौँ ।

केही दिनलाई बाटो मर्मत भएछ । फर्कने यो दिन भने जिप चढ्न पाइने भयो । तर अति थोरै संख्यामा चल्ने जिपले भालेको डाकसँगै हर्न नबजाउँदै चियाको सुर्की सकिसक्नुपथ्र्यो । असजिलै बाटो भए पनि हामी चढेको जिप हनुमान गियर मच्चाएर उकालोमा हुँइकियो । धुलो उडाएर जिप मच्चिँदा सबैजना नाकमुख थुनेर सिटमै निहुरी परे । मुन्टो उठाउँदा हामी चढेको गाडी फलामे डाँडाबाट ओरालो लम्किँदै थियो । आफ्ना आँखाले यतिका दिनसम्म छायाङ्कन गरेका यति धेरै लोभलाग्दा र प्रेरक दृश्यलाई मस्तिष्कमा अटाएर हामी झर्दै थियौँ । साथी अशोकले भने, "अब यी सुन्दर दृश्य र अनुभवहरूलाई सुन्दर शब्दहरूमा ढाल्नु छ ।" साँच्चै, रोबर्ट फ्रस्ट्लाई सम्झँदै थिएँ, "... र निदाउनुअघि मैले कोसौँ पर पुग्नु छ ।"

हो, निदाउनुअघि हामी नेपालीले कोसौँ पर पुग्नु छ ।
* * *
नागरिक दैनिकको शनिवारीय अंकमा प्रकाशित।
  

No comments: